Trending :
 

मन्त्रालयगत बजेटमाथिको छलफल गर्नुको कुनै अर्थ नरहेको टिप्पणी

आषाढ ०४,२०८१

-आस्था न्यूज

असार ४, २०८१ काठमाडौं ।
प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले संसदमा मन्त्रालयगत बजेटमाथिको छलफल गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन् । 
 
प्रधानमन्त्री र मन्त्रीहरुले सुनुवाइ नगर्ने भएकाले संसदमा सो बजेटमाथिको छलफलको कुनै अर्थ नरहेको उनको तर्क थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले संसदमा सांसदहरूले बोलेको कुरा बाटोमा हिँड्ने बटुवाले बोले सरह पनि नहुने गरेको गुनासो गर्नुभयो । उहाँले अहिले पनि राणा र पञ्चायत कालको सो अनुसार सरकार चलेकाले गणतन्त्र र पञ्चायतकालमा फरक देख्ने अवस्था नरहेको बताए । 
 
सांसद सिंहले भने, ‘यो बैठकमा सांसदले बोलेको कुनै मतलब छैन । बरु बाटोमा कोही बोल्छ भने त्यसको मतलब हुन्छ । संसदको हलमा बोल्नेको अहिलेसम्म केही महत्त्व हुन्छ भन्ने मलाई लाग्दैन । त्यसको बाबजुद पनि यो रेकर्ड सिस्टम हो । रेकर्ड गराउनका लागि म केही कुरा राख्न चाहन्छु । विनियोजन शीर्षकमाथि छलफल गर्नु नै यहाँ बेकार छ । त्यसैकारण हाम्रो देशका लागि यो संसदीय व्यवस्था अफाप भएको छ । किनकि सुरुदेखि यो देश  राणा  र पञ्चायतमा हुर्केको एकल व्यक्ति र सोचको असर अहिले बहुदल गणतन्त्र आउँदा पनि त्यही सोच हुर्केको छ । कसैले भन्छ–पञ्चायत र गणतन्त्रमा फरक छ । मलाई त्यस्तो लाग्दैन । किनकि यहाँ जनप्रतिनिधिहरूको जुन बिजोग देख्छु । किनकि राजा र छोटे राजाको बिचमा बजेटको विषयमा छलफल गर्नु नै बेकार छ । राजा भनेको प्रधानमन्त्री र छोटे राजा मन्त्रीजीहरू ।’
 
सांसद सिंहले शासकहरुमा पञ्चायतकालकै सोच भएकाले त्यसले संसदीय व्यवस्थालाई पनि नफापेको जिकिर गरे ।