इन्धनको आपूर्ति आजबाट सहज बन्न थालेको छः निगम
-आस्था न्यूज
असार ४, २०८१ काठमाडौं ।
नेपाल पेट्रोलियम ट्यांकर चालक संघले गरेको आन्दोलनका कारण अस्तव्यस्त बनेको इन्धनको आपूर्ति प्रणाली मंगलबारदेखि सहज बन्न थालेको नेपाल आयल निगमले जनाएको छ ।
नेपाल आयल निगमसँग संघले सोमबार दिउँसो सहमति गरेसँगै थानकोट डिपोले उपत्यकाको मागभन्दा दोब्बर इन्धन बजारमा पठाएको छ ।
थानकोट डिपो प्रमुख अशोक साहका अनुसार सोमबार दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म पेट्रोल १५ सय १७ किलोलिटर र डिजेल १७ सय २९ किलोलिटर बजारमा वितरण गरिएको छ । मंगलबार पेट्रोल १ हजार किलोलिटर र डिजेल ९ सय २० किलोलिटरको माग आएकाले सोहीअनुसार बजारमा पठाएको जनाएको छ ।
‘संघले सहमति गरेलगत्तै राति ९ बजेसम्म इन्धन लोड गरेर बजारमा वितरण गर्यौँ, त्यसपश्चात राति ९ बजेदेखि १२ बजेसम्म बरौनी र अमलेखगन्जबाट आएका ट्यांकर अनलोड गरेका छौ,’ डिपो प्रमुख साहले भने, ‘मंगलबार पनि उपत्यकाको माग भन्दा बढी पठाएका छौँ । सबै पम्पमा इन्धन पुगेको छ, पेट्रोलकै लागि अब लाइन बस्नुपर्दैन ।’
उनले दुई दिनमा करिब ५२ सय किलोलिटर इन्धन बजारमा पठाइएको जानकारी दिए । ‘सोमबार वितरण गरिएको इन्धनको परिमाण अहिलेसम्मकै धेरै हो,’ उनले भने । थानकोट डिपोबाट पेट्रोल दैनिक ७ सय र डिजेल ८ सय ५० किलोलिटर बिक्री हुन्छ । चालकले गरेको आन्दोलनकै कारण आइतबार र सोमबार सर्वसाधरणले सास्ती भोगेका थिए । निजी पेट्रोल पम्पले इन्धन वितरण गरेका थिएनन् । आर्मी, प्रहरी र सशस्त्र प्रहरीका पम्पमा सर्वसाधरणको बाक्लो भिड थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार नेपाल आयल निगमसँग गरिएको छलफलपछि संघले आन्दोलन फिर्ता लिएको हो । वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा भएको छलफलमा संघले उठाएका माग सम्बोधन गर्न उपसमिति गठन गर्नेलगायत विषयमा सहमति जुटेको छ । उक्त उपसमितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यादेश छ ।