मेलम्चीको हेडवर्क्स सार्नका लागि परामर्शदाता छनौट प्रक्रिया सुरु
-आस्था न्यूज
असार ४, २०८१ काठमाडौं ।
मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडवर्क्स सार्नका लागि परामर्शदाता छनौट प्रक्रिया अघि बढाएको छ ।
मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडवर्क्स सार्नका लागि सैद्धान्तिक अनुमति दिने निर्णय गरेसँगै आयोजनाले विस्तृत अध्ययनका लागि परामर्शदाता छनौट प्रक्रिया अघि बढाएको हो ।
गत जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडवर्क्स सुरक्षित स्थानमा सार्नका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो । सो निर्णयसँगै आयोजनाले असार मसान्तभित्र सम्ममा विस्तृत अध्ययनका लागि परामर्शदाता छनौटका लागि इओआई निकाल्ने गरि तयारी अघि बढाएको आयोजना प्रमुख रत्न लामिछानेले जानकारी दिए ।
२०७८ साल असार १ गते आएको बाढीपहिरोले हेडवर्क्सको ९० प्रतिशत भूभाग गेग्रानले पुरेको थियो । त्यसलगत्तै हेडवर्क्स वरपरको गेग्रान सफा गरिसकेपछि फेरि २०८० साउन २७ गते आएको बाढीले गेग्रान थुपारेको थियो । अहिलेको हेडवर्क्सको क्षेत्र नजिकै सँधै पहिरो बगिरहने ठूलो पहाड रहेको छ । विषय विज्ञहरुबाट गराइएको विभिन्न अध्ययनहरुले हेडवर्क्सलाई पुनः सोही स्थानमा निर्माण गर्नु थप जोखिमयुक्त रहने देखाएकाले हेडवर्क्स सार्ने निर्णयमा पुगेको आयोजनाले जनाएको छ ।
दातृ निकाय एसियाली विकास बैंकले २ वर्षअघि नै हेडवर्क्स सार्न खानेपानी मन्त्रालयलाई सुझाव दिएको भएपनि सरकारले केही दिनअघि मात्रै यसमा सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । हेडवक्सका संरचना बगरमुनि नै पुरिएका छन् र गेग्रान निकाल्न सकिने अवस्था छैन । हेडवर्क्सका पुरिएका संरचनालाई खोतलेर इन्टेकमाथि जालीको प्रबन्ध गरी गेग्रान छानेर पानी पठाउन सक्ने अवस्था नभएपछि विज्ञसँगको लामो परामर्शपछि आयोजनाले हेडवर्क्सलाई झन्डै १ हजार मिटर माथि सार्ने भएको हो ।
दुईवटा पहाडका बीच खोंचमा सार्न लागिएको हेडवर्क्स निर्माणको विस्तृत अध्ययनका लागि असार मसान्त भित्र सूचना प्रकाशित गर्ने तयारी आयोजनाले गरेको प्रमुख लामिछानेले जानकारी दिए ।