Trending :
 

युरोकप फुटबलमा पूर्वविजेता पोर्चुगलको विजयी सुरुवात

आषाढ ०५,२०८१

-आस्था न्यूज

असार ५, २०८१ काठमाडौं ।
जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल २०२४ मा पूर्वविजेता पोर्चुगलले विजयी सुरुवात गरेको छ । आज बिहान सम्पन्न खेलमा समूह डी अन्तर्गतको खेलमा चेक रिपब्लिकलाई २-१ गोलले हराउँदै पोर्चुगल विजयी भएको हो ।
 
पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेइकाओले एक गोल गरेका थिए । एक गोल भने चेक रिपब्लिकबाट आत्मघाती उपहार स्वरुप प्राप्त गरेको थियो । चेक रिपब्लिकका लुकास प्रोभोडले एक गोल गरेका थिए ।
 
खेलको ६२औँ मिनेटमा चेक रिपब्लिकका लुकासले सुरुवाती गोल गरेका थिए । तर ६९औँ मिनेटमा रिपब्लिकका रोबिन ह्रानाकले आत्मघाती गोल गरेपछि पोर्चुगल र चेक रिपब्लिकको १–१ को बराबरी हुन पुग्यो ।
त्यसपछि दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा पोर्चुगलका फ्रान्सिस्कोले एक गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाए ।
 
यो जितसँगै तीन अंक जोड्दै पोर्चुगल समूह ‘डी’ को दोस्रो स्थानमा रहेको छ । गोल अन्तरका आधारमा टर्की शीर्षस्थानमा छ ।
 
यस खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले ६ वटा युरोकपमा सहभागी हुने पहिलो खेलाडी बन्दै नयाँ कीर्तिमानी बनाएका छन् । रोनाल्डोले सन् २००४ देखि युरोकपमा लगातार छौठौँपटक सहभागी भएका हुन् ।
 
पोर्चुगल र चेक रिपब्लिकको यो खेलसँगै युरोकपका ६ समूहको पहिलो चरणको खेल सकिएको छ ।