सीधा कुरा डटकमविरुद्धको अवहेलना मुद्दा बृहत पूर्ण इजलासमा पेश गर्न आदेश
-आस्था न्यूज
असार ५, २०८१ काठमाडौं ।
सर्वोच्च अदालतले सीधा कुरा डटकमविरुद्धको अदालतको अवहेलना मुद्दा बृहत पूर्ण इजलासमा पेश गर्न आदेश दिएको छ ।
यसअघि नै विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विषय जोडिएको मुद्दा ७ सदस्यीय इजलासबाट टुंगो लागेको भन्दै सर्वोच्च अदालतले बढी न्यायाधीश सम्मिलित इजलासबाट विवाद निरुपण हुनुपर्ने राय लेखेको हो ।
न्यायाधीश डा. कुमार चुडाल र विनोद शर्माको इजलासले यो मुद्दालाई बढी न्यायाधीश सम्मिलित इजलासबाट निरुपण गर्नु उचित हुने भन्दै पेशी व्यवस्थापन निर्देशक समिति समक्ष प्रस्तुत गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतमा बृहत पूर्ण इजलासमा पाँच वा सो भन्दा बढी न्यायाधीश सम्मिलित हुन्छन् । यसअघि अधिवक्ता तोयानाथ दाहालले कान्तिपुर पब्लिकेसन्सविरुद्ध दिएको अदालतको अवहेलना मुद्दा ७ जना न्यायाधीश सम्मिलित बृहत पूर्ण इजलासले फैसला गरेको थियो ।
सीधाकरा डटकम विरुद्धको अदालतको अवहेलनाको मुद्दा सुनुवाइ गरेको इजलासले कान्तिपुरविरुद्धको मुद्दामा गठन भएको इजलासको संरचनासमेत विचार गरेर बढी न्यायाधीश सम्मिलित इजलासमा पठाउन भनेको हो ।
यो मुद्दा फैसलाका क्रममा तथ्यपरक एवं सत्य साँचो विचार तथा अभिव्यक्तिको स्वतन्त्रता एवं प्रकाशन स्वतन्त्रता समेतका पक्षमा दीर्घकालीन महत्वको ठोस र उपयुक्त व्याख्या गर्नुपर्ने भन्दै बृहत पूर्ण इजलासमा पठाउन आदेश दिएको हो ।