ट्रयाक खुलेको १८ वर्षपछि कुश्मिसेरा-जैदीछिस्ती कालोपत्र गरिँदै
-रासस
असार ६, २०८१ काठमाडौं ।
बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा-जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ ।
चालु आर्थिक वर्षमा सङ्घीय सरकार र जैमिनी नगरपालिकाले विनियोजन गरेको ५०-५० लाख गरी एक करोड रुपैयाँमा सडक कालोपत्र गर्न थालिएको हो ।
कुश्मिसेरा बजारदेखि सर्कुवा, ब्यार्थला, बिनामारी, जैदीछिस्ती पुग्ने सडकको कालोपत्रसँगै स्तरोन्नतिको कामसमेत भइरहेको छ ।
आर्थिक वर्ष २०६२–०६३ सालमा ट्रयाक खुलेको सडक १८ वर्षपछि कालोपत्र हुन थालेपछि स्थानीय हर्षित भएका छन् ।
जैमनी नगरपालिका–५ का वीरबहादुर खत्रीले लामो समयसम्म सडक कालोपत्र नहुँदा यस क्षेत्रका हजारौँ नागरिकले सास्ती खेपेको सुनाए ।
यस वर्ष कुश्मिसेरादेखि चार सय ५० मिटरमाथिसम्म सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गरिनेछ ।
सडक कालोपत्रको जिम्मा पाएको कोन्डा कन्स्ट्रक्सनले हालसम्म करिब ९० प्रतिशत काम पूरा गरेको छ ।