Trending :
 

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

आषाढ ०६,२०८१

-आस्था न्यूज

असार ६, २०८१ काठमाडौं ।
पहिरोका कारण बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ। अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
उक्त कार्यालयका सूचना अधिकारी  प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही बाटोमा पर्ने अक्टोसप झरनामा पानी बढेपछि आवागमन रोकिएको छ ।  
 
हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभिर नै हो । यहाँ पहिरो नियन्त्रणका निम्ति सङ्घीय सरकारले रु १६ करोड ४८ लाखको लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ ।