Trending :
 

बुटवलको डेल्टा कम्प्लेक्समा आगोलागी हुदा सबै सामान जलेर नष्ट

आषाढ ०७,२०८१

-आस्था न्यूज

असार ७, २०८१ काठमाडौं ।
बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा लागेको आगोले भवनका सबै सामान जलेर नष्ट भएको छ।
 
विहीबार साँझ साढे ६ बजेबाट लागेको आगो शुक्रबार राति २ बजेतिर नियन्त्रणमा आएको हो।
 
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मोटर ग्यारेज, दुईवटा पेट्रोल पम्प र बाक्लो बस्तीको बीचमा रहेको डेल्टा कम्प्लेक्सबाट अन्यत्र आगो फैलिनबाट जोगिएपनी कम्प्लेक्स भने पूर्ण रुपमा ध्वस्त भएको छ।
 
मेटल स्टक्चरमा निर्माण गरिएको चार तले भवनको चौथो तलामा रहेको डेल्टा एजुकेसन मार्टको पश्चिमतर्फबाट  साँझ साढे ६ बजेदेखि आगलागी सुरु भएको थियो।
 
झण्डै ३० हजार स्क्वायर फुट क्षेत्रफलमा बनेको कम्प्लेक्समा स्टेशनरी, झण्डै दुई दर्जन बढी विद्यालयका तयारी पोसाक, काँचो र तयारी कपडा, खेलकुदका सामग्रीसहित नेपाली लुगा घर, जुत्ता बजार र खाद्यान्न मार्ट संचालनमा थिए।
 
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार कम्प्लेक्समा संचालित सम्पुर्ण पसल र सामानहरु झण्डै आठ घण्टा लागेको आगोले खरानी भएका छन्।
 
आगलागी पछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, नवलपरासीका बर्दघाट र परासी, कपिलवस्तुको वाणगंगा तथा नेपाल आयल निगम भलवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत गरी १३ वटा दमकल आगो नियन्त्रणमा खटिएका थिए।
 
कम्प्लेक्समा मार्टका गोदाम समेत रहेकोले नियन्त्रणमा लिन कठिन भएको प्रहरीले जनाएको छ।
 
फलाम र प्यानलबोर्डबाट बनेको चारतल्ले भवन पूर्ण रुपमा जलेर नष्ट भएको छ।