बजेट पारित नहुञ्जेल संसद्मा अनिवार्य उस्थिति हुन कांग्रेस सांसदलाई निर्देशन
-आस्था न्यूज
असार ७, २०८१ काठमाडौं ।
नेपाली कांग्रेस संसदीय दलको बैठकले बजेट पारित नहुञ्जेलसम्म संसद्मा अनिवार्य उस्थिति हुन सांसदलाई निर्देशन दिएको छ ।
शुक्रबार अपराह्न नयाँ बानेश्वरमा बसेको दलको बैठकले संसदबाट बजेट पारित नहुञ्जेलसम्म अनिवार्य उपस्थिति हुन निर्देशन दिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।
‘आगामी आर्थिक वर्षको २०८१–८२ को विनियोजित विधेयक बजेट आगामी संसद् बैठकमा निर्णायथ प्रस्तुत हुने कार्यसूची रहेको छ । असार ९ गतेबाट सुरु हुने सबै बैठकमा विनियोजन विधेयक निर्णायथ प्रस्तुत नहुन्जेलसम्मका लागि सबै सांसदलाई अनिवार्य उपस्थिति हुन दलको बैठकले निर्देशन दिएको छ,’ उनले भने ।
संसदमा दलको निर्देशन अनुसार प्रस्तुत हुन सांसदलाई भनिएको लेखकले बताए । ‘बजेटमा के पोजिसन राख्ने भनेर त्यसैबेला निर्णय गर्छौँ,’ उनले भने । प्रतिपक्षको भूमिकामा भएकाले जनताका मुद्दामा मुखतिर भएर संसदमा प्रस्तुत हुन सांसदलाई बैठकले निर्देशन दिएको लेखकले बताए । ‘संसद्का पछिल्ला बैठकमा माननीयहरूको उपस्थिति पातलो देखिएको छ । त्यसैले नेपाली कांग्रेसका माननीयलाई संसदमा उपस्थिति भएर जनताका आवाजलाई उठाउन र प्रतिपक्षको भूमिका क्रियाशीलता पूर्वक निर्वाह गर्न निर्देशन दिएको छ,’ उनले भने ।
बजेट असन्तुलित, पक्षपाती र पूर्वाग्रहपूर्ण रहेको लेखकले बताए ।