Trending :
 

बागलुङमा ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्याले सधै सास्ती

आषाढ ०८,२०८१

-आस्था न्यूज

असार ८, २०८१ काठमाडौं ।
बागलुङमा ठूला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र भइसक्दा पनि  जिल्लाका मुख्य सडक भने कालोपत्र हुन सकेका छैनन् । यहाँका तीन मुख्य सडक वर्षौंदेखि कालोपत्र हुन सकेका छैनन् ।
 
विसं २०७२ मा कालोपत्र गर्न ठेक्का सम्झौता भएको मध्यपहाडी पुष्पलाल राजमार्ग अझै धुलाम्य अवस्थामा छ । गण्डकी प्रदेश सरकार अन्तर्गतका चार सडक सम्पन्नको  चरणमा छन् । एउटा सडक अझै अधुरै छ ।
 
गलकोटको हटियादेखि ताराखोला जोड्ने सडक, बागलुङ नगरपालिका–४ कुडुलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने सडक र ढोरपाटनदेखि म्याग्दी जोड्ने सडक निर्माण सम्पन्न भइसकेका छन् ।
 
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ बजारदेखि घोडाबाँधे सम्मको २५ किमि सडक पाँच पटक म्याद थप्दासमेत सम्पन्न हुन सकेको छैन ।
 
बागलुङ नगरपालिका–४ कुडुँलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने सडक सम्पन्न भएको छ । गलकोटको हटियादेखि ताराखोला जोड्ने सडक र ढोरपाटनदेखि म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको छ ।
 
राङ्खानी–बरेङ सडकमा  कालोपत्र गर्ने काम अन्तिम चरणमा छ । पछिल्लो तीन महिनायता ग्रामीण सडक ४० किमि कालोपत्र गरिएको छ ।
 
जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले ग्रामीण सडक धमाधम कालोपत्र गरिँदा मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ सदरमुकाम खण्ड र राष्ट्रिय प्राथमिकताको आयोजनाको रुपमा रहेको शालझण्डी ढोरपाटन सडक र राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर अझै कालोपत्र हुन नसक्नु दुःखद भएको बताए ।
 
सिगानाको एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक र कालीगण्डकी करिडोरको बागलुङ खण्ड सरकारले भुक्तानी दिन नसक्दा कालोपत्र भएको छैन । कुश्मिसेरादेखि राङ्खानीसम्मको १० किमि सडक पनि अधुरै छ ।
 
विसं २०७२ मा दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भए पनि पाँच पटकसम्म म्याद थप गर्दा समेत बागलुङ बजारदेखि बिहुँ खण्डको १३ किमि सडक ६ किमि मात्रै कालोपत्र भएको छ । बिहुँदेखि घोडाबाँधे सम्मको  १२ किमि सडक कालोपत्र सम्पन्न नहुँदै ठेक्का रद्द गरेर नयाँ ठेक्का लगाइएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका  इन्जिनियर उज्जल शर्माले जानकारी दिए । रासस