टी-२० विश्वकप क्रिकेटः बंगलादेशमाथि भारतको ५० रनको शानदार जित
-आस्था न्यूज
असार ९, २०८१ काठमाडौं ।
आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति भएको ‘सुपर-८’को खेलमा भारतले बंगलादेशमाथि ५० रनको जित निकालेको छ ।
जारी विश्वकपमा अपराजित भारत सेमिफाइनल नजिक पुगेको छ । ‘सुपर- ८’ मा लगातार दोस्रो हारसँगै बंगलादेशको सेमिफाइनल सम्भावना कठिन बनेको छ ।
टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले २० ओभरमा पाँच विकेट गुमाएर १९६ रन बनाएको थियो । १९७ रनको लक्ष्य पछ्याएको बंगलादेश आठ विकेट गुमाएर पुरै २० ओभर खेल्दै १४६ रनमा समेटिएको हो ।
भारतको जितमा हार्दिक पाण्ड्याले अर्धशतक बनाए । २७ बलमा तीन छक्का र चार चौकाको मद्दतमा उनले नटआउट ५० रन बनाएका हुन् ।
भारतका लागि ओपनर विराट कोहलीले ३७, कप्तान रोहित शर्माले २३ रन बनाउँदा ऋषभ पन्तले ३६ जोडे । शिवम् दुबेले ३४ रन बनाउँदा सूर्यकुमार यादव भने ६ रनमा समेटिएका थिए।
बंगलादेशका लागि तान्जिम हसन सकिब र रिसाद होसैनले समान दुईदुई विकेट हात पारे भने सकिब अह हसनले एक विकेट लिए ।
१९७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको बंगलादेशका लागि कप्तान नजमुल होसैन सान्तोले सर्वाधिक ४० रन बनाए ।