छाउगोठमा बलात्कृत किशोरीलाई न्यायसहित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग
-आस्था न्यूज
असार १०, २०८१ काठमाडौं ।
नेपाली कांग्रेसका सांसद पुष्पबहादुर शाहले असार ३ गते राति अछाम पञ्चदेव नगरपालिका-२ की किशोरी छाउगोठमा भएको बलात्कारको घटनाको अनुसन्धानका लागि जोडदार माग गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पीडित किशोरीमाथि भएको बलात्कारको घटनाको निष्पक्ष अनुसन्धान गरी न्याय दिन र पीडकलाई कडा कारबाही गर्न माग गरेका हुन् ।
उनले भने, ‘घटनाको अनुसन्धान गरी पीडित नाबालिकालाई न्यायसहित क्षतिपूर्तिको व्यवस्था मिलाउन र पीडक बलात्कारीलाई कडाभन्दा कडा कानुनी कारबाहीका लागि जोडदार माग गर्दछु ।’
अछाममा छाउगोठ भत्काउने अभियान तीव्र रूपमा सञ्चालन हुँदासमेत पटक-पटक बलात्कारका घटना दोहोरिएको उनले बताए । सांसद शाहले सामाजिक र सांस्कृतिक कुरीति हटाउनका लागि राज्यस्तरबाटै विशेष व्यवस्थाका लागि माग गरे ।
साथै संसद् सचिवालयका कर्मचारीले ११ बुँदे माग राखी गरिरहेको आन्दोलनको सम्बोधन गर्ने सम्बन्धित निकायलाई आग्रह गरे ।