Trending :
 

काम धान्न सक्नेमात्रै ऋण लिने अवस्था बनाउनुपर्ने गभर्नर महाप्रसाद अधिकारीको भनाई

आषाढ ११,२०८१

-आस्था न्यूज

असार ११, २०८१ काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति माथि हुँदा मौद्रिक नीति स्वाभाविक रूपमा कडा हुने बताएका छन् ।
 
नेपाल आर्थिक पत्रकार समाजले मंगलबार आयोजना गरेको पूर्व मौद्रिक नीति छलफलमा गभर्नर अधिकारीले केन्द्रीय बैंकले तथ्यमा आधारित रहेर नीति बनाउने गरेको बताए ।
 
‘अहिले बजारमा अपेक्षा सुन्दा निजी समस्यालाई जनरलाइज गरेको देखिन्छ । आफ्नो समस्याबाट उम्किन राष्ट्र बैंकतर्फ बढी आशातित भएको देखिन्छ,’ गभर्नर अधिकारीले भने, ‘राष्ट्र बैंकका आफ्नै सीमितता छन् । हामी नीति निर्माताको उद्देश्य कसैलाइ पनि ऋणमा डुबाउने होइन, धान्न सक्नेमात्र ऋण लिने अवस्था बनाउने हो ।’
 
चालुपूँजी कर्जा मार्गदर्शनसँग सम्बन्धित नीतिले कुनै पनि व्यक्तिलाई ऋण लिन नरोक्ने उनले बताए । यसमा निजी क्षेत्रले अझै राम्रोसँग नबुझेकाले बुझाउनु आवश्यक रहेको उनको भनाइ छ ।
 
‘विरोधका लागि विरोध होइन, जहाँ समस्या छ, राष्ट्र बैंकमा आउनुस्, समस्या समाधानमा हामी तत्पर छौं,’ गभर्नर अधिकारीले भने, ‘बैंकमा ऋण लिँदा कमिसन लिइन्छ भन्ने गुनासो यो फोरममा सुनियो, यो ठूलो बैंकिङ अपराध हो । केन्द्रीय बैंकका लागि यो गम्भीर विषय हो । प्रमाण सहित ल्याउनुस्, नभए फोरम पाएँ भन्दैमा जे पनि बोल्न पाइन्न।’
 
गभर्नर अधिकारीका अनुसार बैंकरलाई सजिलो छ । जहाँ नाफा छ त्यहीँ लगानी गर्छ, तर राज्यको उद्देश्य त्यो होइन । राज्यले साना उद्योग र साना ऋणीलाई संरक्षण गर्नुपर्छ ।
 
बजारबाट आएका समस्यासँग डराउन नहुने भन्दै उनले बैंकका म्यानेजरहरूलाई यो अवसरको ट्याकल गर्न आग्रह गरे ।