होलसेल मार्केट कलंकीमा सार्ने भन्दै पैसा उठाएर झण्डै ५ अर्ब ठगी गर्ने ६ जना सञ्चालक पक्राउ
-आस्था न्यूज
असार ११, २०८१ काठमाडौं ।
न्युरोड, महाबौद्ध र ओटुको होलसेल मार्केट कलंकीमा सार्ने भन्दै झण्डै एक हजार ३ सय जनाबाट करिब ५ अर्ब रुपैयाँ उठाएर ठगी गरेका ६ जना सञ्चालक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार कलंकी डेभलपर्स प्रालि र मिला ल्याण्ड डेभलपर्सका ६ जना सञ्चालकलाई पक्राउ गरेको हो । काठमाडौँ प्रहरीले मिला ल्याण्ड डेभलपमेण्ट प्रालिका अध्यक्ष नरेन्द्र बज्राचार्य तथा निर्देशकहरू राजेशकृष्ण सिंह श्रेष्ठ, शान्ति रमण पंगेनी, निरञ्जन कुमार श्रेष्ठ, राजु महर्जन र चिरञ्जीवी पौडेललाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा कलंकी ट्रेड सेन्टर (केटीसी)का करिब ४ सय जना लगानीकर्ता र नेशनल बिजनेश ट्रेड सेन्टर (एनबीटीसी)का १५ जना लगानीकर्ताको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ (एक्सटर्सन)को कसुरमा पक्राउ गरिएको हो ।