पोखरा, १३ पुस
लेखनाथ साहित्य प्रतिष्ठानले सञ्चालन गरेको यस वर्षको लेखनाथ साहित्य पुरस्कार—२०७४ संस्कृतिकर्मी एवं साहित्यकार डा जगमान गुरुङलाई प्रदान गरिने भएको छ ।
कविशिरोमणि लेखनाथ पौड्यालकी कान्छी छोरी कुन्तीदेवी भट्टराईको परिवारजनद्वारा स्थापित पुरस्कारको राशि रु ५० हजार, ताम्रपत्र र दोसल्ला रहेको छ । नेपाली संस्कृति र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत डा गुरुङलाई सो पुरस्कारबाट सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले जानकारी दिनुभयो ।
कास्कीको मादी गाउँपालिकाको याङजाकोटमा जन्मेका गुरुङका छवटा सांस्कृतिक तथा अनुसन्धनात्मक कृति प्रकाशित छन् । प्रतिष्ठानका सल्लाहकार तथा पुरस्कार अक्षयकोषका अध्यक्ष डा शुक्रराज अधिकारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले गुरुङको नाम सिफारिश गरेको हो । समितिमा प्रा डा रविलाल अधिकारी, डा प्रतिभा पाण्डे, रमा शर्मा र सदस्य–सचिवमा कृष्णप्रसाद पौडेल रहनुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष ढकालले कवि शिरोमणि लेखनाथ पौडेलको १३४ औँ जन्मजयन्तीको अवसरमा पुस १५ गते कविको जन्मस्थल पोखरा लेखनाथ महानगरपालिका–७ अर्घौं अर्चलेमा आयोजना हुने बृहत् साहित्यिक समारोहमा पुरस्कार प्रदान गरिने बताउनु भएको छ ।
उक्त पुरस्कारबाट यसअघि नेपाली शिक्षा परिषद्, प्रा डा वासुदेव त्रिपाठी, मदनमणि दीक्षित, धर्मराज थापा, डा मोदनाथ प्रश्रित, मुकुन्दशरण उपाध्याय र प्रा बालकृष्ण पोखरेल सम्मानित भइसक्नुभएको छ । समारोहमा कवि शिरोमणिको जन्मजयन्तीको मूल समारोहमा विभिन्न शैक्षिक पुरस्कार र छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम छ ।