महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध निर्माण
-आस्था न्यूज
असार १२, २०८१ काठमाडौं ।
बोरामा माटो भरिएको छ। बास जोडेर जालीझै बनाइएको संरचना नदीमा गाडिएको छ। केही जाली महाकाली नदी नजिकै तयारी अवस्थामा छन्। कोही तार कस्दैछन् त कोही माटो राखिएका बोरा जालीमा भरान गर्दैछन्।
कञ्चनपुरको दोधारा चाँदनी–१० कुतियाकबरमा केही दिनयता स्थानीय यसरी नै जैविक तटबन्ध निर्माणको काम गरिरहेका छन्। महाकाली र जोगबूढा नदीले घेरेर बाढी तथा कटानको जोखिममा रहेको कुतियाकबर बस्ती जोगाउन जैविक तटबन्ध निर्माणकार्य भइरहेको हो।
दोधारा चाँदनी नगरपालिकाको रु दुई लाख ९५ हजार र अन्य केही संघसंस्था र स्थानीयको सहयोगमा जैविक तटबन्ध निर्माण भइरहेको स्थानीय ऐनबहादुर सुनारले बताए।
‘कटानको जोखिम भएको ठाउँमा तटबन्ध निर्माण भइरहेको हो। बर्सातमा महाकाली उर्लेर आउँछ, कटान गरेर खेतीयोग्य जमिन बगाएर लैजान्छ’, उनले भने। ‘जैविक तटबन्धले केही हदसम्म कटान रोक्ने विश्वाससहित यो काम गर्दैछौँ।’ उनका अनुसार दुई साताभित्र जैविक तटबन्धनको काम सम्पन्न हुनेछ।
कुतियाकबरबासीले महाकाली नदी र जोगबूढा नदीमा आउने बाढी र कटानले हरेक वर्ष सास्ती भोग्दै आएका छन्। यहाँ पक्की तटबन्धन नहुँदा अधिकांश नागरिकको खेतीयोग्य जमिन कटान गरेर बगर भएको छ।