प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ६ जना जेल चलान

३ दिन अगाडि

-आस्था न्यूज

असार १२, २०८१ काठमाडौं ।
प्रहरी वृत्त दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये ६ जना थुनामा गएका छन् ।
 
ट्राफिक हत्या आरोपमा कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाइएका ७ जना मध्ये ६ जना थुनामा गएका छन् । एक जना भने १६ वर्षभन्दा कम उमेरको रहेकाले परिवारको जिम्मा लगाउन काठमाडौं जिल्ला अदालतले आदेश जारी गरेको छ ।
 
हत्या आरोपमा भक्तपुरको चाँगुनारायण-१ घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, स्याङ्जाको आँधीखोला गाउँपालिका-३ बिजारी चौतारी घर भएकी ५६ वर्षीया नुनमाया काकर्की, उनकी छोरी २१ वर्षीया बिपना र बसन्ती भनिने बसुन्धरा कार्की, नुवाकोटको तादी गाउँपालिका-४ ओखरे घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ छन् ।
 
त्यस्तै सिन्धुपाचोकको इन्द्रावती गाउँपालिका-१ घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङलाई पुर्पक्षका लागि अदालतले आदेश दिएसँगै कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
 
त्यसैगरी १७ वर्ष मात्रै पूरा भएकी अर्की एक किशोरीलाई भने बाल सुधार गृहमा पठाइएको छ । १३ वर्षका अर्का एक बालकलाई परिवारको जिम्मा लगाउन आदेश आएकाले परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
 
खोटाङको मझुवागढी घर भएका ३२ वर्षीय ट्राफिक घिमिरेको ३ जेठमा हत्या भएको थियो । टोखा नगरपालिका–१० गोंगबु गणेशस्थान बस्ने घिमिरेको शव तारकेश्वर नगरपालिका–९ मनमैजु बासुकी नाग टोलस्थित जोनस भनिने दामोदर खत्रीको निर्माणाधीन घरको नजिक भेटिएको थियो ।
 
निर्माणाधीन दुई तले घरमा हत्या गरी घर बाहिर फालेर कालो म्याट्रेसले छोपिएको थियो । ट्राफिक प्रहरीको पोशाक र बुट भने जलाइएको अवस्थामा भेटिएको थियो ।