सहकारी छानबिन समितिद्वारा गोर्खा मिडियाको कागजात माग

३ दिन अगाडि

-आस्था न्यूज

असार १२, २०८१ काठमाडौं ।
सहकारी छानबिन विशेष समितिको बैठकले गोर्खा मिडिया नेटवर्क प्रालि र ९ सहकारीको कागजात माग गर्ने निर्णय गरेको छ ।
 
बुधबार बसेको छैठौं बैठकले ९ वटा सहकारीसँग सम्बन्धित कागजातहरू र विभिन्न सहकारीबाट गोरखा मिडिया लगायतमा प्रवाह भएको रकमको कागजात उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो ।
 
आजको बैठकले आइडियल यमुना बहुउद्देश्यीय सहकारी, इमेज, सहारा, समानता, सानो पाइला, सुप्रिम, सूर्यदर्शन, सुमेरू र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको कागजात माग गरेको छ ।
 
यी सहकारीहरूको पछिल्लो साधारण सभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र वित्तीय विवरण माग गर्ने निर्णय भएको छ ।
 
आजको बैठकमा समितिले सहकारी क्षेत्रका जानकार मानिने पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटा र केशवप्रसाद बडालसँग सल्लाह सुझाव लिएको छ ।  राजनीतिमा आउनुअघि गृहमन्त्री रवि लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक थिए ।