Trending :
 

भाटभटेनी सुपर स्टोरले विद्यार्थीलाई पार्टटाइम जागिर दिने

आषाढ १३,२०८१

-आस्था न्यूज

असार १३, २०८१ काठमाडौं ।
भाटभटेनी सुपर स्टोरले अब पार्टटाइम जागिर दिने भएको छ। यसको लागि देशभर रहेका २७ वटा शाखाबाट आवेदन माग गरिएको छ।
 
हाल भाटभटेनी सुपर मार्केटमा आठ हजार जनाले नियमित रोजगारी पाएका छन्। अब भने एकै पटक थप दुई हजार जनालाई आबद्ध गर्ने गरी पार्टटाइम जागिरको व्यवस्था गर्न थालिएको भाटभटेनी सुपर मार्केटमा प्रमुख सञ्चालन अधिकृत (सिओओ) पानु पौडेलले बताए।
 
भाटभटेनीले आगामी साउन १ गतेबाट नै यस्तो रोजगारी दिने तयारी गरेको छ। घण्टाको आधारमा काम दिने र सात दिनमा तबल दिने उसको योजना  छ।
 
व्यावसायिक क्षेत्रमा घण्टाको आधारमा जागिर तथा साप्ताहिक तलब भुक्तानी नयाँ अभ्यास हो।
 
भाटभटेनीले कस्ता मानिसलाई यस्तो जागिर दिन्छ, कति पैसा दिन्छ, कति समय काम लगाउँछ, अहिले काम गर्दै गरेका कर्मचारीको हकमा के हुन्छ र यस्तो कामको लागि कानुनी व्यवस्था कस्तो छ? यो चासोको विषय हो।
 
भाटभटेनी सुपर मार्केटका सिओओ पौडेलका अनुसार अहिले २७ शाखामा गरी दुई हजार जनालाई यस्तो रोजगारी दिन थालिएको हो। यसका लागि कुन शाखामा कति जनालाई काम लगाउने भनेर सूची तयार गरिएको छ।
 
सबै मानिसले पार्टटाइम जागिर भने अहिले पाउने छैनन्। यो हामीले सुरुवात गरेका हौँ, प्लस टु पढ्ने विद्यार्थी अहिले हाम्रो फोकसमा छन्, उनले भने।
 
उनका अनुसार एसइई पास गरेको र २१ वर्ष ननाघेका व्यक्तिलाई पार्टटाइम रोजगारी दिन थालिएको हो। पहिले आवेदन दिने र सम्बन्धित भाटभटेनीको शाखाबाट नजिक बस्ने व्यक्तिलाई पहिलो प्राथमिकता दिइने छ। यसका साथै अन्तर्वार्ता विधिबाट छनोट गरिने उल्लेख छ।