टि-२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा हुने

६ दिन अगाडि

-आस्था न्यूज

असार १४, २०८१ काठमाडौं ।
आईसीसी टि-२० विश्वकप २०२४ को उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।
 
बिहीबार राति भएको खेलमा साविक विजेता इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारतले १० वर्षपछि टी-२० विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको हो ।
 
यसअघि सन् २०१४ को विश्वकपमा भारतले फाइनल खेलेको थियो । त्यतिबेला श्रीलंकासँग ६ विकेटले पराजित भएको भारत यो पटक उपाधि चुम्ने दाउमा छ ।
दक्षिण अफ्रिका भने यसअघि नै सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । फाइनल खेल शनिबार हुने छ ।
 
भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६।४ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाउन सक्यो । इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले सर्वाधिक २५ रन बनाए । १९ बलको सामना गरेका उनले तीन चौका प्रहार गरे । उनलाई भारतका कुलदीप यादवले बोल्ड गरेका थिए ।