बागमती प्रदेशसभाबाट बजेट बहुमतले पारित

४ दिन अगाडि

-आस्था न्यूज

असार १४, २०८१ काठमाडौं ।
बागमती प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत बजेट बहुमतले पारित गरेको छ ।
 
बागमती प्रदेशसभा बैठकले बिहीवार राति अबेर अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरेको हो ।
 
सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले १ असारमा आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ लाख रुपैयाँ बजेट प्रस्तुत गरेका थिए ।
 
चालुतर्फ २६ अर्ब १० करोड १६ लाख, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
 
बजेटमाथि ६ असारबाट प्रदेशसभामा छलफल थालिएको थियो । तर, पहिलो दिन नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र विपक्षी दल राप्रपाले बजेट असन्तुलित र त्रुटिपूर्ण रहेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए । सरकार र विपक्षी दलबीच सांसदका योजनामा रकमान्तर गरेर बजेट थप्ने सहमतिपछि ७ असारमा प्रदेशसभाको अवरोध हटेको थियो ।
 
सांसदहरूले उठाएका सवालमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आर्थिक मामिला मन्त्री थपलियाले बिहीवार जवाफ दिएपछि बजेट पारित गरिएको हो ।
 
यस्तै, प्रदेशसभा बैठकले खर्च कटौतीको प्रस्ताव अस्वीकृत गरेको छ । कांग्रेस सांसद रामकृष्ण चित्रकार, छिरिङ दोर्जे लामा, प्रभात तामाङ, कृष्णकुमार तामाङ, रमेशकुमार महत, श्रीराम लामिछाने, पुकार महर्जन, नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईं, सृजना सायजुले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका थिए ।