Trending :
 

जनताको आशा र अपेक्षाअनुसार अझै भएको छैनः प्रधानमन्त्री प्रचण्ड

आषाढ १४,२०८१

-आस्था न्यूज

असार १४, २०८१ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा केही भएको छैन भन्ने भाष्य स्थापित गर्न खोजिएको भन्दै त्यसलाई चिर्नुपर्ने बताएका छन् ।
 
कम्युनिष्ट र सबै लोकतान्त्रिक शक्तिहरु एकताबद्ध भएर नकारात्मक भाष्यलाई चिर्नुपर्ने उनको जोड छ ।
 
जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरु लोकार्पण समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो धारणा राखेका हुन् ।
 
प्रधानमन्त्री प्रचण्डले भने, ‘देशमा केही पनि भएको छैन, भन्ने भाषा गलत भएको बताउँदै उनले भने, ‘धेरै भएको छ । तर जनताको आशा र अपेक्षाअनुसार अझै भएको छैन, त्यो पनि सत्य हो । तर यहाँ एउटा प्रवृत्ति अलि बढी नै नकारात्मक मात्रै कुरा गर्न रमाउने प्रवृत्ति कहीँ न कतै यसलाई अघि बढाउन खोजिएको छ ।’
 
उनले थपे, ‘हामी कम्युनिष्टहरुको आवश्यकता सबै लोकतान्त्रिक शक्तिहरुको पनि आवश्यकता के हो भने हामी एकतावद्ध भएर त्यो भाष्य चिर्नतिर लाग्नुपर्ने हुन्छ ।’
 
क्रान्ति र परिवर्तनका उपलब्धिहरु संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार अहिले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जिकिर गर्दै उनले सरकारको यो प्रयासमा लोकतान्त्रिक र वाम शक्तिको साथ आवश्यक रहेको बताए ।