Trending :
 

राष्ट्र बैंकले खोल्यो अन्तर्देशीय भुक्तानी, अब क्यूआरबाटै भुक्तानी गर्न सकिने

आषाढ १४,२०८१

-आस्था न्यूज

असार १४, २०८१ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले अन्तर्देशीय भुक्तानी क्यूआर स्क्यानबाटै गर्न सकिने व्यवस्था गरेको छ।
 
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले भुक्तानीसम्बन्धी एकीकृत परिपत्र संशोधन गदै नेपाल र भारतबीच क्यूआरबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो।
 
राष्ट्र बैंकले नीतिगत रुपमा यस्तो व्यवस्था गरेको हो । अब नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा भएको बैक खातामा आवद्ध विद्युतीय बैंकिङ्ग (इ-बैंकिङ), अन्तरबैंक भुक्तानी, मोवाइल बैंकिङ, क्यूआर कोर्डबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा पैसा पठाउन सक्नेछन् । 
 
परिपत्रमा नेशनल पेमेन्ट स्विच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म रिटेल पेमेन्ट स्विचबाट कारोबार गर्न सकिने जनाइएको छ। यसअनुसार रिटेल पेमेन्ट स्विचको माध्यमबाट नेपालबाट भारतीय बैंक तथा वित्तीय संस्थाहरुमा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन भारु १५ हजार र प्रतिमहिना भारु १ लाख रुपैयाँसम्म सटही गर्न सकिनेछ। 
 
राष्ट्र बैंकले परिपत्रमा भारतीय रुपैयाँको सटही सुविधा नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको बैंक खाताको क्यूआर कोडबाट पनि भारत र भुटानमा भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो। यसअगाडि कार्डबाट मात्रै भुक्तानी गर्न सकिने व्यवस्था थियो।