लोकतन्त्र स्वेच्छाचारीतन्त्रमा बदलिँदै गएको उपेन्द्रको टिप्पणी
-आस्था न्यूज
असार १६, २०८१ काठमाडौं ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको लोकतन्त्र स्वेच्छाचारीतन्त्र मा बदलिँदै गएको टिप्पणी गरेका छन् ।
नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष यादवले स्वेच्छाचारीतन्त्र बढ्दा लोकतन्त्र बिस्तारै कमजोर बन्दै गएको पनि बताए । उनले शासकहरूका कारण राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय छवि पनि बिग्रिएको बताए ।
‘आज पनि लोकतन्त्र बिस्तारै कमजोर भइरहेको छ’, उनले भने, ‘लोकतन्त्रको खतरा बाहिरबाट नभएर हामी भित्रैबाट भएको छ ।’ उनले लोकतान्त्रिक संस्थाहरू बिस्तारै प्रभावहीन हुँदै गएको पनि बताए । ‘लोकतन्त्र जनताको शासन हो तर दलतन्त्र, नेतातन्त्र र स्वेच्छाचारीतन्त्रमा बदलिँदै छ’, अध्यक्ष यादवले भने, ‘लोकतन्त्र समाप्त हुने खतरालाई जोगाउन जस्तै पचाउन पनि भूमिका खेल्नुपर्छ ।’
अध्यक्ष यादवले संविधान संशोधन र परिमार्जन गर्ने बेला भएको भन्दै त्यसो नगरे मुलुकलाई गति दिन नसकिने बताए ।