ट्रायल पास गरेकाहरूलाई छिटो स्मार्ट लाइसेन्स वितरण गर्न सरकारलाई आग्रह

३ दिन अगाडि

-आस्था न्यूज

असार १७, २०८१ काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ट्रायल पास गरेकाहरूलाई छिटो स्मार्ट लाइसेन्स वितरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
 
ट्रायल पास भएको वर्ष दिनसम्म पनि सवारी लाइसेन्स नआउने गरेको उनले बताए।
 
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले भने, ‘स्मार्ट लाइसेन्स दिने भनेर काम गरेको एक दशक भइसक्यो, छिटो छरितो काम हुन्छ भने पनि उल्टो भयो। ट्रायल दिएको वर्षदिनसम्म लाइसेन्स आउँदैन। आएकाको पनि फोटो प्रष्ट नहुँदा चेकिङमा समस्या परेको सुनिन्छ।’
 
उनले लाइसेन्स नहुँदा राजश्व तिरेको भौचरबाट काम चलाउनुपर्ने बाध्यता रहेको पनि बताए। 
 
यातायात व्यवस्था विभागसँग लाइसेन्स छाप्न एउटा मात्रै प्रिन्टर भएको र अधिकतमा क्षमतामा छपाइ गर्दा मासिक सवा लाखसम्म लाइसेन्स छपाइ हुने पनि उनले बताए। ‘सवारी लाइसेन्स छपाइका लागि अहिले २० लाखभन्दा बढी आवेदन परेको छ,’ उनले भने, ‘आवेदन परेकाको लाइसेन्स छपाइ गर्न नै डेढ वर्ष लाग्छ, नयाँ आवेदकले कहिले लाइसेन्स पाउँछन्रु’
 
उनले प्रदेशहरूबाट पनि लाइसेन्स छपाइको व्यवस्था गर्न माग गरेका छन्।