नेकपा एसको महाधिवेशनः झलनाथ खनालको नेपाली विशेषताको समाजवादी दस्ताबेज पेस
-आस्था न्यूज
असार १७, २०८१ काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)का ‘सम्मानित नेता’ झलनाथ खनालले हिजोका कार्यक्रमहरूको रक्षा र विकास गरेर नेपाली जनता र राष्ट्रलाई अग्रगतितिर लैजान नसकिने निष्कर्ष प्रस्तुत गरेका छन् ।
काठमाडौँमा जारी पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनमा गत जेठ १ र २ गते बसेको केन्द्रीय कमिटी बैठकले पारित गरेको नेपाली विशेषताको समाजवादी कार्यक्रम पेस गर्दै त्यस्तो बताएका हुन् ।
‘हिजो हामीले जनवादी क्रान्तिको क्रममा अघि सारेका कार्यक्रमहरूका जुन अंशहरू लागु भइसकेका छैनन्, तिनीहरू अब समाजवादी कार्यक्रमका अभिन्न अंग बन्छन् र बनाउनुपर्छ । तर, कार्यक्रमिक रूपमा भने अब नयाँ धरातलबाट अघि बढ्नुपर्छ,’ खनालको दस्ताबेजमा भनिएको छ ।
नयाँ आवश्यकताका आधारमा समाजवादी कार्यक्रम अघि सार्नुपर्ने दस्ताबेजमा खनालले बताएका छन् । उनले नयाँ जनवाद, राष्ट्रिय जनवाद, जनताको जनवाद वा जनताको बहुदलीय जनवादका कार्यक्रमहरू त्यस बेलाको वस्तुगत परिस्थितिका उपज भएको पनि उल्लेख गरेका छन् ।
‘अब हिजोका कुनै पनि कार्यक्रमहरूको ‘रक्षा र विकास’ गरेर नेपाली जनता र राष्ट्रलाई अग्रगतितिर लैजान सकिँदैन । हामीले बिलकुल नयाँ धरातल, नयाँ औचित्य र नयाँ आवश्यकताका आधारमा अब समाजवादी कार्यक्रम अघि सार्नुपर्छ । त्यो नेपाली क्रान्तिको इतिहासमा बिलकुल नयाँ र ऐतिहासिक कार्यक्रम हुनेछ’ खनालको ६५ पृष्ठ लामो दस्ताबेजमा भनिएको छ ।