गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीमा कांग्रेसलेभोली १५१ ऐतिहासिक फोटो प्रदर्शन गर्ने

२ दिन अगाडि

-आस्था न्यूज

असार १७, २०८१ काठमाडौं ।
नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी र विमर्श सभा गर्ने भएको छ । पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति स्वर्गीय कोइरालाको स्मृतिमा क्रान्तिदेखि शान्तिसम्म ऐतिहासिक फोटो प्रदर्शनी र विमर्श सभा गर्न लागेको कांग्रेसले जनाएको हो ।
 
सोमबार सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले मंगलबार बिहान साढे ११ बजे सभापति शेरबहादुर देउवाले कार्यक्रम उद्घाटन गर्ने जानकारी दिए । फोटो प्रदर्शनी र विमर्श सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र अरू दलका शीर्ष नेताहरूलाई पनि निम्ता गरिएको उनले बताए । 
 
पार्टी कार्यालयको भुइँतलाको हलमा एक सय ५१ थान ऐतिहासिक महत्वका फोटो प्रदर्शनीमा राखिने विश्वकर्माले बताए । उनका अनुसार कोइरालाका जीवनी, राजनीति, शान्ति प्रक्रिया र समृद्धिसँग जोडिएका तस्बिरहरू प्रदर्शनमा राखिने छ । यी फोटो अवलोकन गर्न करिब २५ मिनेट लाग्ने छ ।
 
उनले पार्टी कार्यालयकै मिथिला हलमा विमर्श सभा हुने पनि बताए । क्रान्तिदेखि शान्तिसम्म शीर्षकमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस नेता कृष्णप्रसाद सिटौला र एमाले नेता प्रदीप ज्ञवाली वक्ता रहेका छन्  । उक्त विमर्शको राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले सहजीकरण गर्ने छन् । यो कार्यक्रम मंगलबार दिउँसो १ बजे सुरु हुने र प्रत्यक्ष प्रसारण गरिने विश्वकर्माले बताए । 
 
यस्तै २०४८ सालको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले मुलुकमा समुन्नतिको दोस्रो जग राखेको शीर्षकमा स्वतन्त्र विज्ञहरूबाट विमर्श सभा गरिने विश्वकर्माले बताए । काठमाडौँ विश्वविद्यालयका प्रा.डा. अच्युत वाग्ले, राजनीतिक विश्लेषक हरि शर्मा र मञ्चला झाले अतिथि वक्ता रहेको कार्यक्रमको सहजीकरण विश्व पौडेलले गर्ने उनले बताए ।
 
यसपछि फोटो पत्रकारका संघर्षका कुराबारे विमर्श हुने उनले बताए ।