स्लोभेनियालाई पेनाल्टी सुटआउटमा हराउँदै पोर्चुगल युरो क्वार्टरफाइनलमा

४ दिन अगाडि

-आस्था न्यूज

असार १८, २०८१ काठमाडौं ।
स्लोभेनियालाई पेनाल्टी सुटआउटमा हराउँदै पूर्वविजेता पोर्चुगल युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा पोर्चुगल ३-० गोलले विजयी बन्यो ।
 
यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको पहिलो हाफमा पोर्चुगलले पेनाल्टीमार्फत खेल आफ्नो पक्षमा पार्ने अवसर पाएको थियो ।
 
तर, क्रिस्टियानो रोनाल्डो गोल गर्नबाट चुके । एट्लेटिको मड्रिडका गोलकिपर जान ओब्लाकले रोनाल्डोको प्रहार बचाऊ गर्न सफल भए ।
 
अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । सुटआउटमा भने रोनाल्डोले पहिलो प्रहार नै गोलमा परिणत गरे । त्यसपछि ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भाले पनि पोर्चुगलका लागि गोल गरे ।
 
उता, पोर्चुगलका डिओगो कोस्टाले स्लोभेनियाका सबै प्रहार रोकेका थिए । पोर्चुगलले अब अन्तिम ८ मा फ्रान्सको सामना गर्नेछ । फ्रान्स बेल्जिमलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको हो ।