विपिन जोशीको रिहाइको पहल गरिदिन ईजरायलका गृहमन्त्रीसमक्ष राजदूत रिजालको अनुरोध
-आस्था न्यूज
असार १८, २०८१ काठमाडौं ।
ईजरायका लागि नेपाली राजदूत कान्ता रिजालले हमास समुहको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन ईजरायका गृहमन्त्री एच.ई. मोशे अर्बेललाई अनुरोध गर्नुभएको छ ।
इजरायलमा यसै साता भएको शिष्टाचार भेटका क्रममा राजदुत रिजालले गृहमन्त्री अर्बेललाई जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन पुनः अनुरोध गर्नुभएको ईजरायलस्थित नेपाली दुतावासले जनाएको छ ।
भेटका क्रममा राजदूत रिजालले नेपाल-ईजरायल सम्बन्धका विषयमा मन्त्तब्य राख्दै नेपाली नागरिकहरुले ईजरायली घरपारिवार तथा नर्सिङ होममा निकै महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको समेत जानकारी गराउनुभयो।
त्यस्तै ईजरायली गृहमन्त्री अर्बेलले नेपाल-ईजरायल सम्बन्ध विशिष्ट किसिमको रहेको उदृत गर्दै ईजरायलमा विभिन्न क्षेत्रमा कार्यरत रहेका नेपाली कामदार लगायत विशेषतः केयरगिभिङ क्षेत्रमा कार्यरत नेपालीहरुले ईजरायली घरपरिवारमा पुर्याएको योगदानलाई खुला हृदयले सम्मान गरेको भन्दै प्रशंसा समेत गर्नुभयो।
साथै गृहमन्त्री अर्बेलले अक्टोबर ७ को हमास आक्रमणमा परेका नेपाली नागरिकहरुप्रति गहिरो दुखः व्यक्त गर्दै बन्धक बनाएका सबैको रिहाइका लागि यथेस्ट प्रयासहरु भइरहेको जानकारी दिदै नेपाल-ईजरायलको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन अन्य क्षेत्रमा पनि नयाँ ढङ्गले सहकार्यका लागि गृहकार्य गरिने समेत राजदुत रिजालसँगको भेटमा जानकारी गराउनुभएको नेपाली राजदूतावासले उल्लेख गरेको छ ।