महन्थ ठाकुरको लोसपाले पनि कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने

३ दिन अगाडि

-आस्था न्यूज

असार १९, २०८१ काठमाडौं ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ समीकरण अनुसार बनेको कांग्रेस-एमाले गठबन्धनलाई साथ दिने निर्णय गरेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
 
कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो मंगलवार पुरानो गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेका थिए । सो छलफलमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले ब्रिफिङ गरेका थिए ।
 
हिजोको बैठकमा सभापति देउवाले एमालेको साथमा नयाँ गठबन्धन बनाउने सहमति भएको र एमालेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको बताएका थिए ।  छलफलमा उनले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएमा एमालेले आफ्नो मन्त्री फिर्ता बोलाएर प्रक्रियामा केपी ओलीको नेतृत्वमा सरकार गठन हुने भनेका थिए ।
 
गठबन्धनले बनाउने सरकारलाई साथ दिन आग्रह गरेको कुरा अध्यक्ष ठाकुरले बैठकमा राखेका थिए । विपक्षी गठबन्धनमा रहेका लोसपा, जसपा नेपाल, राप्रपालगायत दलले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने प्रतिबद्धता जनाएको कुरा अध्यक्ष ठाकुरले बैठकलाई जानकारी गराएको सो पार्टीका महासचिव मनिष मिश्रले बताए ।