Trending :
 

मनसुन देशभर सक्रिय, आइतबारसम्म भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन सुझाव

आषाढ २०,२०८१

-आस्था न्यूज

असार २०, २०८१ काठमाडौं ।
नेपालमा गत जेठ २८ गतेदेखि यो वर्षको मनसुन भित्रिएको थियो । नेपालको पूर्वी क्षेत्र हुँदै अहिले मनसुन देशभर सक्रिय छ । साथै आगामी आइतबारसम्म भारी वर्षा हुने भएकाले सावधानी अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।
 
आगामी दिनमा सीमित क्षेत्रमा मात्रै वर्षा हुने भएकाले जलवायु तथा मौसम विज्ञान विभागले बढी वर्षा हुने भनेर जोखिम किटान गरेका ठाउँमा विशेष सतर्कता अपनाउनुपर्ने जलवायु विज्ञ डा. धर्म उप्रेतीले बताए । उनले साउन, भदौ र असोजमा भारी वर्षा हुने हुँदा त्यसले निम्त्याउनसक्ने जोखिम न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारले समयमा नै ध्यान दिनुपर्ने बताए ।
 
मनसुन भित्रिएको २५ दिनमा ८ करोड बढीको क्षति
विज्ञ उप्रेतीकाअनुसार नेपालमा मनसुन भित्रिएको २५ दिनमा ४५ जनाले ज्यान गुमाएका छन् भने ८ करोड २० लाखभन्दा बढीको हानी नोक्सानी भएको छ । त्यस्तै भरी वर्षा सुरु हुनुभन्दा अगावै भएको यो क्षतिलाई हेर्दा पनि आगामी तीन महिनाभित्र नेपालमा विपद्बाट ठुलो नोक्सानी हुने देखिएको उनले बताए । उनले मनसुन भित्रिएको २५ दिनमा ४६ वटा भौतिक संरचनाहरू बाढी र पहिरोका कारण ध्वस्त भएको बताए । यस समयमा २५९ पशुचौपाया मरेका छन् भने ४ सय वटा जलवायुजन्य घटनाहरू (बाढी, पहिरो, डुबान, चट्याङ) भएका छन् ।
 
उनले भने, ‘नेपालमा मनसुन सुरु भएको २५ दिन लगभग भयो । जेठको २८ गतेदेखि नेपालमा मनसुन सुरु भएको थियो । मनसुनले सुरुवाती अवस्थामा नै धेरै ठुलो हानी नोक्सानी गरेको छ । हिजोसम्मको क्षतिलाई विश्लेषण गर्दा लगभग ४७ जनाले ज्यान गुमाएको देखिन्छ। ८ करोड २० लाख बराबरको आर्थिक क्षति पनि यो २५ दिनमा भएको छ । ४६ वटा भौतिक संरचनाहरू पनि यही बीचमा बाढी पहिरोका कारणले ध्वस्त भएका छन् । मान्छेको जीविकोपार्जनसँग जोडिएको पशुचौपाया लगभग २५९ वटा मरेका छन् । २५ दिनमा ४ सय वटा जलवायुजन्य घटनाहरु (बाढी, पहिरो, डुबान, चट्याङ) का घटना भए । त्यसमा भएको क्षति हो भयो ।’
 
विज्ञ उप्रेतीले असारमा औसतभन्दा कम पानी पर्दाको क्षति ठुलो भइसकेको भन्दै आगामी तीन महिनामा नेपालले व्यहोर्नुपर्ने क्षतिको भार नेपालले व्यहोर्न नसक्ने बताए । उनले समयमा नै सरकारले विशेष ध्यान दिन र शतर्कता अपनाउन नसके विपद्बाट ठुलो क्षति हुने निश्चित रहेको बताए । नदी किनारमा भएका बस्तीहरू, भौतिक संरचना, विद्युतीय संरचना, विद्यालय, लिएर खानेपानी, कृषि सबैमा विपद्को प्रभाव बढेको उनले बताए । उनले मनसुनको न्यूनचापीय रेखा नेपालमा रहेकाले यस समय भारी वर्षा हुने बताए । उनले विपद्पूर्व नै विपद् हुनसक्ने सम्भावित क्षेत्रको पहिचान गरी त्यहाँका स्थानीयहरूलाई सचेत गराउन आवश्यक रहेको बताए ।