Trending : #श्रीनेहा     
 

बजेटले सबै क्षेत्रलाई उच्च प्राथमिकता दिएको अर्थमन्त्रीको भनाई

आषाढ २१,२०८१

-आस्था न्यूज

असार २१, २०८१ काठमाडौं ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकमाथि राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिएका छन् ।
 
अर्थमन्त्री पुनले शुक्रबार राष्ट्रिय सभामा आगामी आवका लागि विभिन्न पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच रणनीति र पाँच रूपान्तरणकारी क्षेत्र पहिचान गरी त्यसको कार्यान्वयनबाट बजेटले लिएका लक्ष्य हासिल हुने बताए ।
 
बजेटले संविधान र नीति तथा कार्यक्रमलाई सम्वोधन नगरिएको र संघीयता सबलीकरणमा जोड नदिएको, शिक्षा क्षेत्रमा न्यून विनियोजन, कृषिमा लगानी दशक घोषणा गरिए पनि विनियोजन कम, बजेटलाई उत्पादन उत्पादकत्व बढाउने गरी बजेट नआएको, आत्मनिर्भर अर्थतन्त्र निर्माण हुने गरी बजेट विनियोजन नभएकामा राष्ट्रिय सभा सदस्यहरूको जिज्ञासा थियो ।
 
त्यसैगरी प्रादेशिक सन्तुलन हुने गरी बजेट नआएको, पूँजीगत बजेट तथा पूँजीगत खर्च गर्ने क्षमता न्यून, पूर्वाधार क्षेत्रमा कम बजेट, मन्त्रालयगत विनियोजनमा असन्तुलन, वित्तीय हस्तान्तरणमा प्रदेशहरूबीच बजेट विनियोजन र समन्यायिक नभएको, सधैं मन्त्री र आसेपासेका क्षेत्रमा बढी बजेट केन्द्रित हुने गरेको र असन्तुलित बजेट विनियोजन, युवालाई देशमा नै रोक्न सकिने गरी नीति तथा कार्यक्रम नआएको जिज्ञासा पनि उनीहरूको थियो ।