Trending :
 

देशभर वर्षा, सतर्कता अपनाउन अनुरोध

आषाढ २२,२०८१

-आस्था न्यूज

असार २२, २०८१ काठमाडौं ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
 
महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेका कारण देशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ ।
 
अहिले देशभर साधारणदेखि पूर्णतया बदली छ । बागमती, गण्डकी, लुम्बिनीलगायत सबै प्रदेशमा साधारणदेखि मध्यम वर्षा भइरहेको छ । केही स्थानमा भने भारी वर्षा भइरहेको छ ।
 
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
 
थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।
 
राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । कोशी र मधेस प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
 
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
 
मुलुकका विभन्न भागमा भारी वर्षा हुँदा हुन सक्ने जोखिमबाट जोगिन सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । महाशाखाले बागमती प्रदेशको ललितपुर जिल्लास्थित बागमती नदी खोकना जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले बागमतीको नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन अनुरोध गरेको छ ।
 
आज सूर्योदय बिहान ५ बजेर १४ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ ।