बाढीले खतराको चिह्न पार गरेपछि सिक्टा सिँचाइका सबै ढोका
-आस्था न्यूज
असार २३, २०८१ काठमाडौं ।
बाँकेस्थित राप्ती नदीमा बाढीले खतराको चिह्न पार गरेपछि सिक्टा सिँचाइ आयोजनाको अगैयास्थित ब्यारेजका सबै १८ वटै ढोकाहरू खोलिएका छन्।
जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले राप्ती नदीको बाढीले खतराको तह पार गरेपछि राप्ती सोनारी गाउँपालिका-२ अगैयास्थित सिँचाइ आयोजनका सबै ढोकाहरू खोलिएको जानकारी दिए।
बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रको रेकर्ड अनुसार शनिबार दिउँसो राप्ती नदीमा पानीको सतह ७ मिटर ७० सेन्टिमिटरभन्दा माथि पुगेको थियो।
शुक्रबारदेखिको अविरल वर्षाका कारण राप्ती सोनारी गाउँपािलका–१ कुसुम बाघखोर क्षेत्रका स्थानीयका झन्डै दुई दर्जन जति घरहरू डुबानमा परेको प्रहरी प्रमुख कार्कीले बताए।
‘हालसम्म कुनै मानवीय क्षति छैन,’ कार्कीले भने, ‘अबिरल वर्षाका कारण स्थानीयले सावधानी अपनाएका छन्।’
दाङमा पनि राप्ती नदीमा आएको बाढीका कारण तटीय क्षेत्र जलमग्न छन्।