नारायणगढ बुटवल सडकखण्ड विस्तारको काम रोकियो
-आस्था न्यूज
असार २४, २०८१ काठमाडौं ।
निरन्तर परेको वर्षाका कारण नारायणगढ बुटवल सडकखण्ड विस्तारको काम रोकिएको छ ।
नारायणगढ-बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरका अनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको जानकारी दिए ।
‘वर्षातमा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि अहिले यातायात सहज बनाउनेतर्फ हामीले ध्यान दिएका छौँ’ उनले भने, ‘निर्माण कम्पनीले आफ्नो जनशक्ति र उपकरण सडक अवरुद्ध भएको ठाउँमा यातायात सहज बनाउन लगाएको छ ।’
सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षाले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउने लगायतको काममा निर्माण व्यवसायीलाई खटाइएको उनको भनाइ छ ।
२०७५ साल माघमा सडक बिस्तारको लागि सम्झौता भएर काम सुरु गरिएको सडकको भौतिक प्रगति हालसम्म ५२ प्रतिशतमात्रै देखिएको योजना प्रमुख मगरले बताए । नारायणगढ–बुटवल सडकको ११४ किलोमिटरमध्ये पूर्वी खण्डमा ६५ किमि सडक पर्दछ ।
समयमै सडक विस्तारको काम नसकेको निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले दोस्रो पटक पाएको म्याद थपको अवधि यही साउन ८ गते सकिँदैछ ।
म्याद सकिन लागेपछि निर्माण कम्पनीले अझ एक वर्ष म्याद थपका लागि निवेदन दिएको जनाइएको छ ।
निर्माण कम्पनीले दिएको निवेदनको आधारमा कति दिन म्याद थप गर्दा उचित हुन्छ भन्ने विषयमा आफूहरू छलफलमा नै रहेको आयोजना प्रमुख मगरले बताए ।