बाढी, पहिरो र डुबानका कारण १९ ठाउँका सडक पूर्ण रुपमा अवरुद्ध, ९८ करोडको क्षति
-आस्था न्यूज
असार २५, २०८१ काठमाडौं ।
शुक्रबार र शनिबारको लगातारको वर्षापछिको बाढी, पहिरो र डुबानका कारण १९ ठाउँका सडक पूर्ण रुपमा अवरुद्ध भएका छन्।
सडक विभागका अनुसार संखुवासभा, लमजुङ्, गुल्मी, स्याङ्जा, सिन्धुपालचोक, कालिकोट, सिन्धुली, धनकुटा, बागलुङ, डोटी, दाङको विभिन्न सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएका हुन्। यस्तै ११० ठाउँका सडक एकतर्फी रुपमा सञ्चालनमा छन्।
सडक विभागकाअनुसार यो वर्ष मनसुन सुरु भएको जेठ २८ यता सडक क्षेत्रमा ९८ करोडभन्दा बढीको क्षति भएको छ।
बाढी, पहिरो र डुबानले सडक अवरुद्ध हुँदा कतिपय ठाउँमा यात्रु बाटोमै अलपत्र परिरहेका छन्।
यो वर्षको मनसुन सुरु भए यता बाढी, पहिरो लगायतका विपद्मा ७४ जनाको मृत्यु भएको छ। यो अवधिमा गण्डकी प्रदेशमा २२ जना, कोशी र लुम्बिनी प्रदेशमा १८र१८ जना, बागमती, सुदूरपश्चिम र कर्णाली प्रदेशमा ४र४ जना र मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ।
विपदमा ५ जना बेपत्ता भएका छन् भने ८८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदमा परेर अहिलेसम्म दुई हजार दुई सय ९६ परिवार विस्थापित भएका छन्।