Trending :
 

भारतले अनुमति दिएमा नेपालले झण्डै १६ सय मेगावाट बिजुली निर्यात गर्न सक्ने

आषाढ २५,२०८१

-आस्था न्यूज

असार २५, २०८१ काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले भारतले अनुमति दिएमा झण्डै १६ सय मेगावाट बिजुली निर्यातको संरचना बनिसकेको जनाएको छ।
 
दुई देशबीच बिजुली व्यापारको लागि चाहिने प्रशारणलाइन र सवस्टेशनको अहिलेको क्षमताले १५ सय ८० मेगावाट बिजुली निर्यात गर्न सकिने प्राधिकरणले जनाएको छ । तर भारतले अहिलेसम्म ६ सय ९० मेगावाट बिजुली आयात अनुमति दिएकाले नेपालले यो भन्दा धेरै परिमाणमा बिजुली निर्यात गर्न पाउँदैन ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गएको वर्ष भएको भारत भ्रमणको क्रममा ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री मोदीबीच १० वर्षमा नेपालले भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने सहमतिमा हस्ताक्षर भइसकेको छ । तर अहिलेसम्म नेपालले ६ सय ९० मेगावाट मात्रै निर्यातको अनुमति पाएको छ ।
 
नेपालले तत्कालै १२ सय मेगावाटको बिजुली निर्यातको अनुमति मागेको छ । तर भारतले अनुमति दिन आनाकानी गरिरहेको छ । विद्युत्  प्राधिकरणले सन् २०३० सम्म १२ हजार सात सय मेगावाटसम्म निर्यात गर्न सकिने संरचना तयार भइरहेको पनि जानकारी दिएको छ ।
 
अहिलेसम्म नेपाल र भारतबीच ४०० केभीको एउटा मात्रै ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन सञ्चालनमा छ । यो प्रसारणलाइनबाट जम्मा ८ सय  मेगावाट बिजुली आदान प्रदान गर्न सकिन्छ ।  यस्तै, अरु विभिन्न प्रसारणलाइनबाट झण्डै ८ सय मेगावाट निर्यात गर्न सकिन्छ  ।