Trending :
 

क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

आषाढ २६,२०८१

-आस्था न्यूज

असार २६, २०८१ काठमाडौं ।
लिओनल मेसीले कोपा अमेरिका २०२४ मा पहिलो गोल गर्दा अर्जेन्टिनाले क्यानलाई २-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका छन् ।
 
मेटलाइफ स्टेडियममा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाका लागि मेसी र जुलियन अल्भारेजले गोल गरे ।
 
अर्जेन्टिनाले अब कोलम्बिया र उरुग्वेबीचको खेलको विजेतासँग उपाधिका लागि खेल्नेछ । साविक विजेता अर्जेन्टिना लगातार तीन ठूला प्रतियोगिता जित्ने लक्ष्यमा छ । २०२१ मा कोपा जितेको रअर्जेन्टिनाले २०२२ मा फिफा विश्वकप उपाधि जितेको थियो ।
 
खेलको २१औं मिनेटमा अल्भारेजले रोड्रिगो डे पउलको पासमा गोल गर्दै अर्जेनटिनालाई अग्रता दिलाएका थिए ।
 
दोस्रो हाफमा मेसीले गोल थपे । उनले ५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा जारी कोपामा पहिलो गोल गरेका हुन् ।
 
आफ्नो करियरको सातौं कोपा खेलिरहेको मेसीले सन् २०११ बाहेक ६ संस्करणमा गोल गरेका छन् । उनले सन् २००७ मा पहिलो पटक कोपा खेल्दा दुई गोल गरेका थिए ।
 
यस्तै २०१५ मा १ गोल, २०१६ मा ५ गोल, २०१९ मा १ गोल र २०२१ मा ४ गोल गरेका थिए ।
 
मेसीले अहिलेसम्म कोपामा १३ गोल गरेका छन् । उनी सर्वाधिक गोल गर्नेमा संयुक्त रुपमा सातौं स्थानमा छन् ।