उत्तर पुस्तिका हराएको बारे त्रिविले केही दिनमा निर्णय गर्ने

आषाढ २६,२०८१

-आस्था न्यूज

असार२६, २०८१ काठमाडौं ।
उत्तर पुस्तिका हराएको प्रकरणमा त्रिभुवन विश्वविद्यालयले केही दिनमा निर्णय गर्ने भएको छ । उत्तर पुस्तिका हराएको विषयमा छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा त्रिविले केही दिनभित्रमा निर्णय गर्न लागेको हो ।
 
२०८० सालको वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय ४२२ र शिक्षा शास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषय ४१२ का उत्तर पुस्तिका हराएका थिए ।
 
उत्तर पुस्तिका हराएको विषयमा गत चैत १५ गते त्रिविले राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष तथा त्रिविका पूर्व रजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । समितिले त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकसहित विभिन्न व्यक्तिलाई कारबाही सिफारिस गरेको थियो ।   
 
त्रिविका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले प्रतिवेदन अध्ययनको काम सकिएको र केही दिनमा निर्णयमा पुगिने बताए ।