Trending :
 

बक्यौता र जरिवाना रकम नतिरेको भन्दै प्राधिकरणले जगदम्बा स्टिलको बिजुली काट्यो

आषाढ २८,२०८१

-आस्था न्यूज

असार २८, २०८१ काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले बाराको सिमरामा रहेको जगदम्बा स्टिलको बिजुलीको लाइन काटिदिएको छ । डेडिकेटेड लाइनको बक्यौता रकम र जरिवाना नतिरेको भन्दै प्राधिकरणले गएराति नौ बजे लाइन काटिदिएको हो ।
 
जगदम्बाले डेडिकेटेड लाइनको २५ प्रतिशत जरिवानासहित १ अर्ब ६० करोड रुपैयाँ नबुझाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यससँगै विद्युत् प्राधिकरणले लाइन काटिदिएका उद्योगहरुको संख्या ६ पुगेको छ ।
 
यसअघि प्राधिकरणले २५ असारमा रिलायन्स स्पिनिङ, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट लगायतका उद्योगका लाइन काटेको थियो ।
 
२०७२ साल माघ महिनादेखि २०७५ साल वैशाखसम्म लोडसेडिङ कायम रहेको अवधिको प्रिमियम महसुल नतिरेका उद्योगहरुको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
 
लाइन काट्ने प्राधिकरणको कदमको उद्योगी व्यवसायीहरुले भने विरोध जनाउँदै आएका छन् । प्राधिकरणले उद्योगीलाई तर्साउने र धम्काउने काम सुरु गरेको भन्दै उनीहरूले यदि बिजुलीको लाइन नजोडिदिए सबै उद्योगमा आफैं लाइन काट्ने र उद्योग बन्दे पार्ने चेतावनी दिएका छन् ।
 
लोडसेडिङको समयमा उद्योगहरुले प्रिमियम शुल्क लाग्ने डेटिकेटेड तथा ट्रंक लाइन मार्फत् बिजुली उपभोग गर्न पाएका थिए । उद्योगहरुले नियमित महसुल तिरे पनि प्रिमियम शुल्क नतिरेपछि विद्युत् प्राधिकरणले बक्यौता तिर्न भन्दै पत्राचार गरेको थियो । त्यसविरुद्ध विद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए ।