Trending :
 

सीमा सुरक्षालाई प्राथमिकता दिन निर्देशन

आषाढ ३१,२०८१

-आस्था न्यूज

असार ३१, २०८१ काठमाडौं ।
पर्साका प्रमुख जिल्ला अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखले नेपाल भारत सीमास्तम्भका बारेमा स्थलगत अवलोकन एवं जानकारी लिएका छन् ।
 
जिल्लामा एक सय सात किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न पर्साका सुरक्षा निकायलाई निर्देशन दिए ।
 
उनले जगरनाथपुर गाउँपालिका-२ स्थित नेपाल-भारतको इनर्वा सीमानाकाको स्थलगत अवलोकन गर्दै सीमावासीका समस्या र गुनासालाई सम्बोधन गर्ने गरी अघि बढ्न  सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका हुन् ।
 
उनले सीमा क्षेत्रका स्थानीयवासीसँग पनि छलफल गरेर स्थानीयवासीले उठाउँदै आइरहेको विषयलाई सम्बोधन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
 
टोलीले ठोरी गाउँपालिकास्थित सीमास्तम्भको बारेमा पनि अवलोकन गरेको थियो । सो अवसरमा जगरनाथपुर गाउँपालिका-२ का वडाध्यक्ष नेपालीप्रसाद कुशवाहाले केही ठाउँमा सीमाको विवाद कायम रहेकाले दुवै पक्षबीच छलफल गरेर विवाद टुङ्ग्याउनु पर्नेमा जोड दिए ।
 
जगरनाथपुर-२ का स्थानीय जामिर मियाँले नेपाली सुरक्षाकर्मी र स्थानीयबीच सुमधुर सम्बन्ध कायम गर्नुपर्ने बताए ।