Trending :
 

त्रिशूली नदीमा दुई बससँगै हराएका मध्ये १३ जनाको शव फेला

आषाढ ३१,२०८१

-आस्था न्यूज

असार ३१, २०८१ काठमाडौं ।
नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बसका यात्रुमध्ये अहिलेसम्म १३ जनाको शव भेटिएको छ । भेटिएका शवमध्ये आठ वटा शवको सनाखत भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । सनाखत भएका आठमध्ये तीन वटा शव भारतीय नागरिकका हुन् । अरू मृतक नेपाली नागरिक हुन् ।
 
हराइरहेका अरू यात्रु तथा दुवै बसको खोजी कार्य आज पनि चलिरहेको छ । खोजीका लागि आज उच्च प्रविधिको सोनार डिभाइस पनि प्रयोग भइरहेको छ । यो डिभाइसले साउन्ड वेभमार्फत पानीमुनि दुई सय मिटर तलसम्मको वस्तु देख्न सक्ने सशस्त्र प्रहरी बलले जनाएको छ ।
 
काठमाण्डौबाट गौरतर्फ र वीरगञ्जबाट काठमाण्डौतर्फ गुडिरहेका दुई वटा बसलाई शुक्रवार बिहानै पहिरोले बगाएपछि त्रिशूली नदीमा खसेका थिए । ती बसमा कम्तीमा ६५ जना यात्रु चढेका जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । ६५ जनामध्ये काठमाण्डौबाट गौर जाँदै गरेको बसका तीन जना यात्रु भने बाँच्न सफल भएका थिए ।
 
आज बिहान भेटिएका चारमध्ये दुई वटा शव गण्डक नहरको भारततर्फको क्षेत्रमा भेटिएका हुन् । अहिले घटनास्थलभन्दा ५० किलोमिटर तलसम्म खोजी भइरहेको छ । खोजीका लागि र्‍याफ्टिङ बोट, दुरबिन र पानीभित्र हेर्न मिल्ने खालका क्यामेराहरू जडान गरिएका उपकरण पनि प्रयोग गरिएका छन् । तर पानी धमिलो भएकाले पानीभित्र हेर्ने क्यामरा खासै उपयोगी नभएको खोजकर्ताहरूको भनाइ छ । आज प्रयोग भएको सोनार डिभाइसले तरङ्गमार्फत वस्तु पहिल्याउन सक्ने भएकोले सहयोगी हुने अपेक्षा छ ।