Trending :
 

बर्सेनि ३० हजार क्यान्सरका रोगी थपिने गरेको तत्थ्यांक:

माघ २१,२०७४

-

 माघ २१,२०७४ काठमाडौं ।
 
नेपाल अर्बुद रोग निवारण संघका अनुसार नेपालमा वर्षेनी ३० हजार नयाँ क्यान्सरका बिरामी थपिने गरेका छन् । 
 
हिलेसम्म उपचारका लागि अस्पतालसम्म पुग्ने बिरामीको संख्या नेपालभर १० हजार छ । क्यान्सरका बिरामी यसरी नै बढ्दै जाने हो भने सन् २०२० सम्ममा क्यान्सरले विकाराल रुप लिने चिकित्सकहरुले बताउने गरेका छन् । 
 
भक्तपुर मेमोरियल क्यान्सर अस्पतालमा मात्र वर्षेनी १४ हजार बिरामी क्यान्सर उपचारको लागि बहिरंग सेवामा भर्ना हुने गरेका छन् । 
 
अस्पतालमार्फत वर्षेनी ४५ हजार क्यान्सर रोगीले फलोअप उपचार गर्छन् । गत वर्ष सो अस्पतालमा १४ सय पुरुष र १८ सय महिलाले क्यान्सर रोगको उपचार गराएका थिए । 
 
विपन्न नागरिक आर्थिक उपचार कोषअन्तर्गत आर्थिक वर्ष ०७३–०७४ मा वीर अस्पतालबाट ७ सय ७१ क्यान्सरका बिरामीले उपचार सेवा लिएका थिए । 
 
त्यसैगरी, स्वास्थ्य मन्त्रालयमार्फत दिइने विपन्न नागरिक औषधि उपचार कोषमार्फत आव ०७०–०७१ देखि ०७२–०७३ सम्ममा देशभर ९ हजार ३७० क्यान्सरका बिरामीले उपचार सेवा लिए । चालु आर्थिक वर्षमा बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत २ सय ७० र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत ८ सय ६४ जना बिरामी विपन्न नागरिक अन्तर्गत क्यान्सर रोगको उपचार सेवा लिएका छन् ।
 
क्यान्सरका बिरामीको रेकर्ड राख्दै आएका सात वटा अस्पतालको क्यान्सर रजिष्ट्रीअनुसार नेपालमा क्यान्सरका बिरामी प्रत्येक वर्ष बढिरहेको पाइएको छ ।
 
 
वीर अस्पताल, धरानको बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल र पोखराको मणिपाल अस्पतालमा क्यान्सर रोगको उपचार गर्ने बिरामीको संख्या बढ्दो छ । 
 
यी अस्पतालमार्फत सन् २००३ मा ३ हजार २५१ क्यान्सरका बिरामीको उपचार भएकोमा सन् २०१३ सम्म आइपुग्दा संख्या बढेर ४ हजार ७१८ पुगेको छ ।