नौ तलाको अत्याधुनिक सो भवनभित्र १५ वटा चिकित्सा विज्ञानका अत्याधुनिक शल्यक्रिया कक्ष रहने छन् । यसैगरी पोष्ट अपरेटिभ, ४० श्ययाको सर्जिकल अति सघन कक्ष र पुस्तकालय रहने छन् ।
साथै ज्येष्ठ नागरिक तथा अपांग तथा बिरामी कुरुवा मैत्री भवन बन्नेछ । नेपाल सरकारको रु तीन अर्ब ८५ करोडको लागतमा सो भवन विसं २०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।
विसं १९४७ मा १५ श्ययाबाट सेवा दिन शुरु गरेको वीर अस्पतालले आफ्नो क्षमता एक हजार ५०० श्यायामा विस्तार गर्दै छ । कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा गणेशमान गुरुङले ४५० श्ययाको वीर अस्पतालको क्षमता विस्तार भई एक हजार ५०० शैया पुर्याउन लागेको जानकारी दिए ।
यसका लागि न्याम्सले गुरुयोजना समेत कार्यान्वयनमा ल्याएको छ । योजनाका अनुसार छिट्टै ६५० श्ययाको मेडिकल भवन निर्माण कार्य शुरु हुने तथा एक सय श्ययाको विशिष्ट प्रकारको विशेषज्ञ मेडिकल भवन जापान सरकारको आर्थिक सहयोगमा शुरु भइसकेको छ ।
वीर अस्पतालले नेपालमै पहिलोपटक क्यान्सर रोगका लागि टेमोथेरापी उपकरण उपचार विधिमा ल्याउन लागेको सो अवसरमा जानकारी दिइयो । यसका लागि अस्पतालले रु ४० करोडमा उपकरण समेत खरिद गरिसकको बताइएको छ ।