Trending :
 

धुर्मुसको अर्को सपना

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा !

चैत्र १५,२०७४

-

चैत १५,२०७४ दमक ।
हास्य कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल ‘धुर्मुस’ ले अब अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् । 
 
विभिन्न ४ वटा एकीकृत नमुना बस्ती निर्माण गरेर चर्चामा आएका धुर्मुसले अब अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने घोषणा गरेका हुन् ।
 
नमुना नेपाल वनाउने अभियानमा धुर्मुस सक्रिय रहेकावेला नेपालले एकदिवशीय क्रिकेट मान्यता पाएको थियो । 
 
यससँगै नेपालमा क्रिकेट रंगशाला बनाउन चौतर्फी दबाव बढेको छ । सफल सामाजिक अभियान्ता बनेका धुर्मुसमाथि रंगशाला बनाउन धेरैले दबाब दिँदै आएका थिए ।
 
फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न अग्रगामी भूमिका खेल्ने घोषणा गरेका हुन् ।
 
धुर्मुसले बिहीबार एक स्टाटस लेख्दै यसको लागि धुर्मुस सुन्तली फाउन्डेसनले संयोजन गर्ने बताएका छन् । 
 
अब चाँडै रंगशाला निर्माण समिति बन्नेछ र त्यही समितिको रोहबरमा रंगाशाला बन्ने उनले लेखेको स्टाटसमा उल्लेख गरिएको छ । 
 
तर नमुना नेपाल र रंगशाला कुन पहिला वनाउने भनेर उनले राय समेत मागेका छन् ।
 
यसअघि रंगशाला निर्माणमा आफू नेतृत्व लिन तयार रहेको स्टाटस लेखेर धुर्मुसका भाइ ‘जिग्री’ अर्थात कुमार कट्टेल चर्चामा आएका थिए । 
 
‘दाईले नै नेतृत्व लिने भएपछि आफू सहयोगी बन्न तयार भएको हुँ’,– जिग्रीको भनाइ छ ।
 
त्यसैगरी चौधरी ग्रुपका अध्यक्ष अर्बपति विनोद चौधरीले समेत रंगशाला बनाउनेवारे छलफल अघि बढाएका थिए । 
 
गायक प्रमोद खरेल पनि केही दिन यता रंगशाला बनाउने नेतृत्व लिन छलफल गर्दै रहेका थिए । 
 
तर बाजी मारे धुर्मुसले । ४ बस्ती निर्माण गरिसकेका धुर्मुसमा निर्माण अनुभव भएकाले उनीप्रति आम विश्वास रहेको देखिएको छ ।