Trending :
 

युभेन्ट्स र मोनाको सेमिफाइनलमा; बार्सिलोना र डर्टमण्ड बाहिरिए

बैशाख ०७,२०७४

-

वैशाख ७ –

च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत गय राति भएको दोस्रो लेगमा बार्सिलोना र युभेन्ट्सको खेल गोल रहित बराबरीमा टुँगिएपछि बार्सिलोना क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

उता पहिलो लेगमा युभेन्ट्सले बार्सिलोनालाई ३-० ले पराजित गरेको हुँदा समग्रमा ३-० को जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्यो ।

प्रि क्वाटरफाइनलमा पिएसजी विरुद्ध अवे म्याच ४-० ले हारेर पनि दोस्रो लेगमा ६-१ को जित निकाल्दै नतिजा उल्टाएको बार्सिलोनाले क्वाटरफाइनल दोस्रो लेगमा युभेन्ट्स विरुद्ध भने सोही नतिजा दोहोर्‌याउन सकेन ।

युभेन्टसले उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गर्दै गोल गर्न रोकेपछि बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट नै बाहिरिन पुगेको हो ।

रेफ्रिले दोस्रो लेगको खेल सकिएको जनाउ दिँदै सिटी फुकेदा, ब्राजिलियन स्ट्राइकर नेइमार रुँदै मैदानबाट बाहिरिए ।

उनलाई युभेन्ट्सका खेलाडी डानी आल्भेसले मैदानमा सम्झाएका थिए ।

यस्तै अर्को क्वाटरफाइनल खेलमा मोनाकोले डर्टमण्डलाई समग्रमा ६-३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । पहिलो लेगमा ३-२ को जित हात पारेको मोनाकोले दोस्रो लेगमा ३-१ को जित निकालेको हो ।

मोनाकोलाई जित दिलाउन काएलेन एमबापे, रालेमेल फाल्काओ र भालेरे जर्मेनले गोल गरेका थिए ।

डर्टमण्डका लागि मार्को रिउसले सान्त्वना गोल गरे ।

मोनाको च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको सन् २००४ पछि यो पहिलो पटक हो भने २००९ पछि अन्तिम चारमा स्थान बनाउने पहिलो फ्रेन्च क्लब समेत बनेको छ।