Trending :
 

डीपीएल - २ : धनगढीको पहिलो जित

चैत्र १९,२०७४

-

चैत १९,२०७४ काठमाडौं ।
टिम चौराह धनगढीले सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेटमा विजयी सुरुवात गरेको छ । 
 
सोमबार भएको पहिलो खेलमा सीवाईसी अत्तरियालाई धनगढीले ३ विकेटले जित हात पारेको हो ।
 
१५१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको धनगढीले १९.२ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य भेटायो । 
 
धनगढी कुनै बेला हार नजिक पुगेको थियो । तर ब्याटिङ गर्न आएका कप्तान सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै ३८ रन बनाए । उनले १५ बलमा अविजित ३८ रन बनाएका हुन् । 
 
धनगढीका लागि विदेशी खेलाडी रोहन मुस्ताफाले ४० रन बनाए । त्यस्तै, राजेश पुलामी मगरले २१, अश्फक अहमद र राजु रिजालले समान १०–१० रन बनाए ।
 
जित नजिक पुगेर पनि पराजित भएको सीवाईसी अत्तरियाका लागि सबैभन्दा बढी रन कमलसिंह ऐरीले खाए । 
 
उनले ३ ओभर बलिङ गरेर ४५ रन खर्चेका थिए । सीवाईसीका लागि दीपेन्द्रसिंह ऐरी र शुभांकर उराओले समान २–२ विकेट लिए ।
 
टस हारेर पहिले ब्याटिङ गरेको सीवाईसी अत्तरियाले निर्धा्रित २० ओभरमा ८ विकेटको क्षतिमा १५० रन बनाएको थियो ।
 
सिवाईसीका लागि प्रेम तामाङ र विपिन चन्द्राले समान २८–२८ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले २५ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले भने १९ रन जोडेका थिए ।
 
धनगढीका लागि ललित भण्डारीले ३ विकेट लिए ।
 
यसअघि भएको पहिलो खेलमा सीवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गरेको थियो । 
 
यता धनगढी भने काठमाडौं गोल्डेन्ससँग ७ विकेटले पराजित भएको थियो । डीपीएलको विजेताले २५ लाख नगद पाउनेछ ।
 
त्यस्तै, उपविजेताले १० लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख नगद प्राप्त गर्नेछन् ।