रुकुमका विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा
-
चैत २५,२०७४ रुकुम ।
स्वास्थ्य बीमा तथा उपचार कार्यक्रम अन्तर्गत रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।
नागरिक स्वास्थ्य उपचार सेवाबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रमको अवधारणा ल्याइएको गाउँपालिकाले जनाएको छ ।
१० वडा रहेको त्यस गाँउपालिकाले स्वास्थ्य बीमा गराउनका लागि विपन्न परिवारको घरधूरी पहिचान गरिरहेको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताउनुभयो ।
गाउँपालिकाको बीमा कार्यक्रमबाट करिब तीन सय घर परिवारको निःशुल्क स्वास्थ्य बीमा हुने बताइएको छ ।
गाउँपालिकामा रहेका तीन हजार सात सय ४७ घरपरिवार मध्ये ८ प्रतिशत विपन्न परिवारको स्वास्थ्य बीमा निःशुल्क गराउने गरी निर्देशिका र बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
विपन्न घर परिवारको स्वास्थ्य बीमा गराउन गाउँपालिकाले चालु आर्थिक वर्षमा आठ लाख रुपैंयाँ विनियोजन गरेको छ । पहिलो गाउँसभाले स्वास्थ्य बीमाका लागि बजेट सर्वसम्मत पारित गरेको थियो ।
गएको फागुन २७ गतेदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको थियो । सामाजिक स्वास्थ्य सुरक्षा समितिले रुकुम पश्चिमका ७३ जना दर्ता सहयोगीलाई तालिम दिएर स्वास्थ्य बीमाको लागि खटाइ सकेको छ ।