दक्षिण एसियाली जुडोमा भारत टिम च्याम्पियन, नेपाल दोस्रो स्थानमा
-
बैशाख १०,२०७४ काठमाडौं ।
्आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा भारत टिम च्याम्पियन बनेको छ । सोमबार सम्पन्न च्याम्पियनसिपमा टिम स्पर्धा २ स्वर्ण सहित कुल १२ स्वर्ण पदक जित्दै भारत टिम च्याम्पियन बनेको हो ।
टिम च्याम्पियन बनेको भारतले १२ स्वर्ण ३ कास्यसहित कुल १५ पदक जित्न सफल भयो । च्याम्पियनसिपको अन्तिम दिन भारतले टिम स्पर्धामा २ स्वर्ण जितेको थियो ।
भारतले पुरुषको टिम स्पर्धामा पाकिस्तानलाई ३ – २ ले हराउदै स्वर्ण जित्यो । यो स्पर्धामा नेपाललाई हराएर श्रीलंकाले कास्य प्राप्त गर्यो । महिला टिम स्पर्धामा नेपाललाई हराएर भारतले स्वर्ण आफ्नो बनायो । फाइनलमा नेपाल भारतसँग ४ – ० स्कोरले पराजित हुँदै रजतमा सिमित भएको थियो ।
लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको च्याम्पियनसिपमा नेपाल दोस्रो स्थानमा रह्यो । नेपालले २ स्वर्णसहित कुल २२ पदक जित्न सफल भयो । नेपालका पुरुषतर्फ इन्द्र बहादुर श्रेष्ठ र रविन श्रेष्ठले स्वर्ण जितेका थिए । यस्तै नेपालले ७ रजत र १३ कास्य प्राप्त गर्न सफल भयो । नेपालले अन्तिम दिन महिलाको टिम स्पर्धामा रजत पदक जितेको थियो ।
यस्तै तेस्रो स्थानको पाकिस्तानले २ स्वर्ण, ४ रजत र ३ कास्य जितेको छ । त्यस्तै श्रीलंकाले ३ रजत र ६ कास्य, बंगलादेशले २ रजत र २ कास्य जित्दा भुटानले १ कास्य जितेको छ ।
नेपाल जुडो संघद्वारा आयोजित च्याम्पियनसिपमा १६ स्पर्धा समावेश गरिएको थियो । च्याम्पियनसिपमा नेपालसहित भारत, भुटान, पाकिस्तान, श्रीलंका र बंगलादेश गरी ६ राष्ट्रका १ सय २ खेलाडी सहभागीता जनाएका थिए ।
यो च्याम्पियनसिपको अर्को संस्करण बंगलादेश हुने भएको छ । च्याम्पियनसिपको दौरान बसेको साउथ एसियन जुडो फेडेरेसनको बैठकले सन् २०२० को च्याम्पियनसिप बंगलादेशमा गर्ने निर्णय गरेको हो । यस्तै जुनियर तथा क्याडेट च्याम्पियनसिप सन् २०१९ मा श्रीलंकामा गर्ने निर्णय गरेको छ ।