मस्कोमा हुने विश्वकपमा जर्सी लगाएर उत्रिँदैछन नेपाली बालबालिका
-
वैशाख ११,२०७५ काठमाडौं ।
रुसको मस्कोमा हुने स्ट्रिच चाइल्ड वर्ल्डकप २०१८ ‘द फ्युचर डिपेन्ड्स अन यू’ मा नेपालले पहिलो पटक सहभागिता जनाउँदै छ ।
वैशाख २६ देखि जेठ ४ गतेसम्म स्ट्रिट चाइल्ड युनाइटेडले आयोजना गर्न लागेको यस प्रतियोगितामा सहभागिता जनाउने नेपाली टिमको जर्सी सार्वजनिक गरिएको छ ।
नेपाली टिमको मुख्य प्रायोजक वेस्टार रेसिडेन्सीका सञ्चालक अक्षय गोल्यानले नेपाली टिमको जर्सी सार्वजनिक गरेका हुन । कार्यक्रममा बोल्दै सञ्चालक गोल्यानले नेपाली टिमलाई प्रायोजन गर्न पाउँदा गर्व महसुस भएको प्रतिक्रिया दिए ।
सडकमा जीवन बिताउन बाध्य भएका बालबालिकालाई आवास, शिक्षा, खाना लगायतको कार्य गर्दै आएको सेल्टर आश्रय नेपालको सक्रियतामा नेपालले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।
सेल्टर आश्रय नेपालले सडक बालबालिकाहरुको राष्ट्रिय लिग सञ्चालन गरेर खेलाडी छनोट गरेको थियो । रुस जाने नेपाली टिममा रोशन भुजेल, एरोन कार्की, पवन शाही, सचिन बिश्वकर्मा, विशाल वादी, सन्तोष खत्री, मनववीर लामा, विकास तिमल्सिना र रमेश शाह तेली छन् ।
उनीहरुलाई राजन न्यौपानेले प्रशिक्षण दिइरहेका छन् भने गोलकिपरको प्रशिक्षण नवीन महर्जनले सम्हालेका छन् । नेपाली टिम आइतबारदेखि बन्द शिविर प्रशिक्षणमा बसेका छन् । खेलाडीको आवाससँगै पौडी, जिम, टेनिस, स्नुकर, टेबलटेनिस लगायतको सुविधा प्रायोजकले नै गरेको छ ।
दुई साता एन्फा कम्प्लेक्सको मैदानमा प्रशिक्षण गरेपछि नेपाली टिम मस्को प्रस्तान गर्नेछ । नेपाली टिमलाई कोकाकोला, गोल्डस्टार सुज, एनएमबी बैंक, सनराइज बैंक र नेपाल एसबीआई बैंकले सहप्रायोजन गरेको सेल्टर आश्रय नेपालकी अध्यक्ष खुस्बु ओलीले जानकारी दिइन्